२०८३ बैशाख १६ बुधबार १८

सरूवा रोगले ६०लाख कुखुरा मरे, २ अर्ब ४० लाख क्षति

काठमाडाैँ

विभिन्न सरुवा रोगका कारण ६० लाखभन्दा बढी कुखुरा मरेका छन् । पछिल्ला समय कुखुरामा लागेको रानीखेतलगायतको सरुवा रोगबाट त्यतिको सङ्ख्यामा कुखुरा मरेको कुखुरा व्यवसायीले बताएका छन् । फाट्टफुट्ट बर्डफ्लु पनि देखिएको उनीहरूको भनाइ छ ।

कुखुरा व्यवसायीहरूको छाता संस्था नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीका पोख्रेलका अनुसार नेपालमा अहिले झन्डै चार करोड कुखुरा व्यावसायिक रूपमा पालिएका छन् । तीमध्ये तीन करोड त मासुका लागि पालिएका बोइलर मात्रै हुन् ।

कुखुरा मर्नुको कारण र त्यसले पारेको क्षतिबारे अध्ययन गर्न नेपाल कुखुरा व्यवसायी मञ्चद्वारा गठित कार्यदलका सदस्य डा. विष्णुहरि पोख्रेलले मासुका लागि पालिएका बोइलर, अण्डाका लागि पालिएका लेयर्स र चल्ला उत्पादनका लागि पालिएका माउ कुखुरा प्यारेन्ट नै सामूहिक रूपमा मरिरहेको जनाउनुभयो ।

“पाँच/छ महिनादेखि नै कुखुरा धमाधम मरिरहेका र अहिलेसम्म ६० लाखभन्दा बढी पुगेको तथ्याङ्क प्राप्त भएको छ”, डा. पोख्रेलले भन्नुभयो, “कतिपय किसानको खोर नै रित्तिने गरी कुखुरा मर्नु चिन्ताको विषय हो ।”

चितवनको भरतपुरमा रहेकोे मोडेल पोल्ट्री फार्म प्रालिको खोरमा रहेका पाँच हजार चार सय लेयर्स कुखुरा सबै मरेपछि खोर नै रित्तो भए । कुखुरा केन्द्रीय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरमा तिनको परीक्षण गर्दा रानीखेत देखिएको फार्मका सञ्चालक तिलोचन कँडेलले जानकारी दिनुभयो । “अरूतिर पनि मर्ने क्रम घटेको छैन,” उहाँले भन्नुभयो ।
रानीखेतले कुखुरा मर्दै गर्दा बाँचेका कुखुराले पनि अण्डा उत्पादन घटाउने विज्ञहरूको भनाइ छ ।

पोल्ट्री महासङ्घका उपाध्यक्ष टीका पोख्रेलका अनुसार एउटा बोइलरमा तीन सय, लेयर्समा पाँच सय र प्यारेन्टमा एक हजार पाँच सय रुपियाँ उत्पादन लागत पर्दछ । सामान्यतः मर्ने कुखुराको सङ्ख्या बोइलर बढी भएकाले मर्ने कुखुराको औसत खर्च चार सय रुपियाँ मान्ने हो भने पनि अहिले देशैभर फैलिएको रोगले दुई अर्ब ४० करोड रुपियाँ बराबरका कुखुरा मरेको पोख्रेलको तर्क छ ।

उहाँका अनुसार खोप लगाएका कुखुरा पनि मर्ने गरेका छन् । रानीखेतको खोप लगाएका कुखुरा पनि मरेको उहाँले बताउनुभयो । कुखुरामा दाना पानी कम खाने, हरियो दिसा गर्ने, मुन्टो बटार्ने, अण्डा कम दिनेजस्ता लक्षण देखिएपछि भटाभट कुखुरा मर्नु रानीखेतको लक्षण भएको बताइन्छ । यो रोग एक प्रकारको सरुवा रोग हो ।

 

गोरखापत्र अनलाइनबाट

 

२०७८ जेष्ठ ३०, आईतवार १९:१५ गते 1 Minute 2379 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार