२०८३ बैशाख १६ बुधबार १३

स्वास्थ्य प्रोटोकल पालना गरी मर्निङ वाक गर्नेलाई प्रहरीले नरोक्ने

काठमाडाैँ ।

कोभिड-१९ को दोस्रो लहर फैलिएसँगै देशको अधिकांश ठाउँहरूमा निषेधाज्ञा जारी गरी सर्वसाधारणलाई घर बाहिर निस्कन रोक लगाइएको थियो । यस्तो समयमा धेरै सर्वसाधारणबाट निषेधाज्ञामा मर्निङ वाक गर्न पाइएन भन्ने व्यापक गुनासोहरू थियो ।

स्वास्थ्यको दृष्टिकोणले आफूलाई चलायमान राख्न र दिनभरिको कामको बोझलाई हल्का पारी शरीरलाई पर्ने असहजतालाई मुक्ति दिन सर्वसाधारण केहीबेर हिँडडुल गरी शरीरलाई ‘रिफ्रेस’ दिन खोजिरहेका हुन्छन्।

तर, कोरोना संक्रमणदर बढेपछि उपत्यकाका प्रशासनले निषेधाज्ञा जारी गरे। हिँडडुलमा रोक लगाए। कोरोना संक्रमणदर घट्दो क्रममा आएसँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू यो निष्कर्षमा पुगेका छन् कि अब मर्निङ र इभिनिङ वाकमा बाधा नपारौं।

अब निषेधाज्ञा छ भनेर बिहान–बेलुका हिँड्नका लागि प्रशासनले बाधा पार्दैन। सर्वसाधारणले बिहान बेलुका हिँडेर आफ्नो शरीरलाई फूर्तिलो बनाउन सक्नेछन्।

तर, प्रशासनबाट जारी हुने आदेशमा यो बुँदा उल्लेख नभएको पनि हुन सक्छ। अब सचेत रहँदै अब बिहान– बेलुका हिँड्नेलाई बाधा नपार्ने निर्णय भएको छ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, ‘हामीले निषेधाज्ञा जारी गर्दा यो बुँदा उल्लेख गरेका छैनौं। तर, आफ्नो शारीरिक अवस्थालाई तन्दुरुस्त बनाउन बिहान– बेलुका हिँड्नेलाई बाधा गरिने छैन भन्नेमा काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै प्रजिअ सहमत छौं।’

भट्टराईका अनुसार बिहान– बेलुका स्वास्थ्य मापदण्ड पूरा गरेर हिँड्ने जनतालाई नरोक्न आन्तरिक रूपमा प्रशासनले जिल्लास्थित प्रहरी प्रमुखहरूलाई सर्कुलर गर्छ। प्रहरीले त्यहीअनुसार हिँड्नेहरूलाई व्यवहार गर्छ।

मर्निङ र इभिनिङ वाकको लागि समय भने तोकिएको छैन। उनीहरू आफ्नो इच्छाअनुसार हिँड्न पाउने छन्। तर, यस मामलामा प्रशासनले स्वास्थ्य प्रोटोकल पालना गर्न भनेको छ।

मास्क अनिवार्य प्रयोग गर्नुपर्नेछ। आवश्यकता अनुसार सर्वसाधारणले स्वास्थ्यलाई ख्याल गरेर सामग्रीहरू प्रयोग गर्न सक्नेछन्।

‘मास्कको अनिवार्यता साथसाथै सेनिटाइजरलगायत आवश्यक मापदण्ड पालना गरी हिँडडुल गर्दा कसैले रोक्ने छैन,’ भट्टराईले भने, ‘तर, मास्क नलगाइकन हिँड्नेलाई प्रहरीले समातेर कारबाही गर्छ।’

भट्टराईका अनुसार यो सबै जनस्वास्थ्यका हिसाबले प्रशासनद्वारा गरिएको सहजीकरण हो, त्यसलाई जनताले व्यवहारमा प्रयोग गरे आफू पनि सुरक्षित हुने र अरूलाई पनि सुरक्षित राख्न मद्दत गर्छ।

‘मर्निङ र इभिनिङ वाक खुला गरियो भनेर भिडभाड गर्ने, सामाजिक दुरी कायम नगर्ने देखिएको खण्डमा हस्तक्षेप हुन्छ,’ भट्टराईले भने।

 

सेतोपाटीबाट 

 

 

२०७८ जेष्ठ ३०, आईतवार १९:०० गते 1 Minute 836 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार