विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ ।
अष्ट्रेलियाविरुद्धको खेलमा नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीमा चार परिवर्तन गर्दै अन्तिम ११ को घोषणा गरेका छन्। उनले अघिल्लो खेलमा भन्दा चार जना खेलाडी परिवर्तन गरेका हुन्।
प्रशिक्षक अलमुताइरीले मिडफिल्डमा विशाल राई र एरिक विष्टलाई ल्याउँदा डिफेन्समा गौतम श्रेष्ठ र फरवार्डमा नवयुग श्रेष्ठलाई सुरुवाती ११ मा ल्याएका छन्। यसअघिकाे खेलमा सुरूवाती लाइनअपमा रहेका अन्जन विष्ट, दीनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेन्चमा छन्।
अघिल्लो खेलमा विकास घाइते भएपछि डिफेन्समा झरेका सुमनले आज पनि सोहि पोजिसनमा रहेर सुरुवात गर्नेछन्।
दीनेश राजवंशीको स्थानमा गौतम श्रेष्ठ मैदानमा हुने छन्। मिडफिल्डमा पुजन उपरकोटीलाई एरिक विष्ट र विशाल राईले साथ दिनेछन्। अग्रभागमा नवयुग श्रेष्ठले सुमन लामा र सुनिल बलको साथ पाउनेछन्।
कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न कुवेत पुगेको नेपालले यसअघि चाइनिज ताइपेईलाई २-० ले हराएको थियो भने जवर्डनसंग ३-० ले पराजित भएको थियो।
समूह बी मा रहेको नेपाल यसअघि नै विश्वकप छनोटबाट बाहिरिसकेको छ भने एसिया कपको अर्को चरणका पुग्नका लागि पनि अब प्लेअफको सहायता लिनुपर्ने अवस्था बनेको छ ।
यदी नेपालले अष्ट्रेलियालाई हराएमा र अन्य समूहका टिमहरुको नतिजा पनि नेपाल अनुकुल आएमा मात्र नेपाल समूहमा चौथो हुनेमध्ये उत्कृष्ट चारमा पर्दै एसिया कप छनोटको तेस्रो चरण पुग्नेछ । यो समीकरण लगभग असम्भव जस्तै रहेकोले नेपालले एसिया कपको तेस्रो चरणमा खेल्नका लागि अब प्लेअफ नै खेल्नुपर्नेछ ।
समूह चरणमा ७ खेल खेलिसकेको नेपालले दुई जित र ५ खेलमा हारको नतिजासहित ६ अंक जोडेको छ ।
नेपालले यसअघि विश्वकप छनोटमै २०१९ मा अष्ट्रेलियासँग खेलेको थियो । क्यानबेरामा भएको उक्त खेलमा नेपाल ५-० ले पराजित भएको थियो ।
सेतोपाटीबाट






